Google को Hotel Center

सेवाका सर्तहरू

 

Google को Hotel Center का यी सेवाका सर्तहरू (“सर्तहरू”) का पक्षहरू Google LLC (“Google”) र यी सर्त कार्यान्वयन गर्ने वा यी सर्त विद्युतीय रूपमा स्वीकार गर्ने एकाइ (“यात्रासम्बन्धी साझेदार”) हुन्।  यात्रासम्बन्धी साझेदारले Google Hotel Center र त्यससँग सम्बन्धित सेवा, सुविधा तथा कार्यक्षमता (“सेवाहरू”) प्रयोग गर्दा यी सर्तहरू लागू हुन्छन् (i) यात्रासम्बन्धी साझेदारले यी सर्तका मातहत रहने गरी दिइएका खाता(हरू) (“खाता”) मार्फत ती सेवाहरू चलाएको हुनु पर्छ वा (ii) ती सेवामा यी सर्तहरू (समग्रमा “Hotel Center” भनिने) को सन्दर्भ समावेश गरिएको हुनु पर्छ।  

 

1. Hotel Center को प्रयोग।  यात्रासम्बन्धी साझेदार Google APIs लगायतका विभिन्न माध्यम प्रयोग गरी डेटा, फिड वा अन्य सामग्री (“सामग्री”) Hotel Center मा पेस गर्न सक्छन्। यात्रासम्बन्धी साझेदार सामग्री पेस गर्दा Google ले उनलाई उपलब्ध गराएका सबै निर्देशन वा स्पेसिफिकेसनहरू पालना गर्ने कुरामा सहमति जनाउँछन्। Google ले यात्रासम्बन्धी साझेदारलाई Hotel Center का सामग्री एक्स्पोर्ट गर्न, लिंक गर्न, सार्न वा ती सामग्री कुनै अन्य तरिकाले Google को अर्को सेवामा प्रयोग गर्न दिने सुविधा उपलब्ध गराउन सक्छ। त्यस्तो अवस्थामा, यात्रासम्बन्धी साझेदारले Google को सो सेवा प्रयोग गर्दा उक्त सेवाका सर्तहरू लागू हुने छन् तर त्यसका लागि यात्रासम्बन्धी साझेदारले Hotel Center प्रयोग गर्दा यी सर्तहरू निरन्तर लागू भइरहेको हुनु पर्छ। यात्रासम्बन्धी साझेदारले Hotel Center का निश्चित सेवाहरू प्रयोग गर्न चाहेका खण्डमा ती साझेदारले उक्त सेवाहरूमा लागू हुने बेग्लै सर्तहरूमा सहमति जनाउनु पर्ने हुन सक्छ।  Hotel Center का केही सेवाहरू “बिटा” वा प्रयोग गर्न नमिल्ने वा गोप्य हुन सक्छन् (“बिटा सुविधाहरू”)।  यात्रासम्बन्धी साझेदारले बिटा सुविधाबाट प्राप्त वा उक्त सुविधासम्बन्धी कुनै पनि जानकारी खुलासा गर्न पाउँदैनन्। यसै गरी उनले सार्वजनिक रूपमा उपलब्ध नभएका बिटा सुविधाहरूका सर्त वा अस्तित्वका सम्बन्धमा पनि कुनै कुरा खुलासा गर्न पाउँदैनन्।  Google वा यसका सहयोगी संस्थाहरूले बिटा सुविधालगायतका अन्य सेवाहरू कुनै पनि बेला निलम्बन गर्न, परिमार्जन गर्न वा बन्द गर्न सक्छन्।  यी सर्तहरूको प्रयोजनका लागि “सहयोगी संस्था” भन्नाले Google लाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नियन्त्रण गर्ने, Google को नियन्त्रणमा रहेको वा समय समयमा Google सहित साझा रूपमा नियन्त्रित हुने कुनै पनि एकाइ बुझ्नु पर्छ।

 

2. खाता।  यात्रासम्बन्धी साझेदारले Hotel Center प्रयोग गर्दा एक वा सोभन्दा बढी खाता(हरू) बनाउनु वा Google बाट ती खाता अनुमोदन गराउनु पर्ने हुन्छ।  खाताहरू पुष्टि गर्ने प्रयोजनका लागि तथा समय समयमा Google ले कानुनी एकाइको नाम, व्यवसायले प्रदान गर्ने सेवा, मुख्य सम्पर्क व्यक्ति, फोन नम्बर, ठेगाना र सान्दर्भिक डोमेन जस्ता अतिरिक्त जानकारी माग गर्न सक्छ। खाताको प्रयोगसम्बन्धी सबै कार्य, विभिन्न खातामार्फत Hotel Center मा पेस गरिएका सामग्री र खाताको युजरनेम र पासवर्ड सुरक्षित राख्नेलगायतका Hotel Center को प्रयोगसम्बन्धी सम्पूर्ण जिम्मेवारी यात्रासम्बन्धी साझेदारमा निहित रहन्छ।

 

3. नीतिहरू। 

a. यात्रासम्बन्धी साझेदारले Hotel Center प्रयोग गर्दा निम्न कुराहरू लागू हुन्छन्: (i) https://support.google.com/hotelprices/topic/11077677 मा उपलब्ध Google का प्रचलित नीति तथा Google ले यात्रासम्बन्धी साझेदारलाई उपलब्ध गराएका अन्य सबै नीतिहरू (समग्रमा “नीतिहरू भनिने”)। Google ले यी नीतिहरू समय समयमा परिमार्जन गर्न सक्छ, (ii) यी सर्तहरू र (iii) यात्रासम्बन्धी साझेदारले प्रचलित कानुन(हरू) पालना गर्नु पर्ने हुन्छ। 

b. Hotel Center का सम्बन्धमा (i) Google ले  google.com/policies/privacy मा उपलब्ध Google को गोपनीयता नीतिको पालना गर्ने छ (यी नीतिहरू समय समयमा परमार्जन गरिन सक्छ) र (ii) Google र यात्रासम्बन्धी साझेदार लागू हुने हदसम्मhttps://privacy.google.com/businesses/gdprcontrollerterms/ मा उपलब्ध Google नियन्त्रक-नियन्त्रक बिचको डेटा सुरक्षासम्बन्धी सर्तहरू (“डेटाको सुरक्षासम्बन्धी सर्तहरू”) मा सहमति जनाउँछन्।  डेटाको सुरक्षासम्बन्धी सर्तहरूमा स्पष्ट रूपमा अनुमति दिइएको अवस्थामा बाहेक Google ले डेटाको सुरक्षासम्बन्धी सर्तहरू परिमार्जन गर्ने छैन।

 

4. यात्रासम्बन्धी साझेदारको सामग्री।

a. Google र यसका सहयोगी संस्थाहरूका उत्पादन तथा सेवाहरूका सम्बन्धमा यात्रासम्बन्धी साझेदार Google र यसका सहयोगी संस्थाहरूलाई (बौद्धिक सम्पत्तिको अधिकारद्वारा संरक्षित गरिएको हदसम्म) सामग्री प्रयोग गर्ने चिरस्थायी, अपरिवर्तनीय, विश्वव्यापी र निःशुल्क इजाजत प्रदान गर्छन्। Google र यसका सहयोगी संस्थाहरूका तर्फबाट सेवा प्रदान गर्ने ठेकेदार तथा उसका प्रयोगकर्ताहरू Google र यसका सहयोगी संस्थाहरूका उत्पादन तथा सेवाहरूमा यात्रासम्बन्धी साझेदारका सामग्री प्रयोग गर्न सकून् भन्नाका खातिर Google र यसका सहयोगी संस्थाहरूले माथि उल्लेख गरिएका ठेकेदार तथा प्रयोगकर्ताहरूलाई यी अधिकार प्रत्यायोजन गर्न सक्छन् भन्ने कुरामा यात्रासम्बन्धी साझेदार सहमति जनाउँछन्।

b. यात्रासम्बन्धी साझेदारले पेस गरेका सामग्रीमा URL वा त्यस्तै अन्य सामग्री समावेश भएका खण्डमा यात्रासम्बन्धी साझेदार Google र यसका सहयोगी संस्थाहरूलाई ती URL(हरू) तथा ती URL(हरू) (“गन्तव्यहरू”) मार्फत प्रयोग गर्न सकिने सामग्री चलाउने, इन्डेक्स गर्ने, क्यास गर्ने वा क्रल गर्ने अधिकार दिन्छन्।  उदाहरणका लागि, Google ले त्यस्ता URL सँग सम्बद्ध वेबसाइटहरू खोल्ने र तिनको विश्लेषण गर्ने स्वचालित सफ्टवेयर प्रोग्राम उपयोग गर्न सक्छ।  Google र यसका सहयोगी संस्थाहरूले "गन्तव्य" बाट सङ्क‌लन गरेका सबै सामग्रीलाई "सामग्री" मानिने छ र तिनलाई यी सर्तहरूमा तोकिएअनुसार व्यवहार गरिने छ भन्ने कुरामा यात्रासम्बन्धी साझेदार सहमति जनाउँछन्।

c. यात्रासम्बन्धी साझेदारले Hotel Center को प्रयोग गरेका खण्डमा Google ले गर्ने सामग्रीको आधिकारिक प्रयोगअन्तर्गत उनले Google लाई सम्पूर्ण ट्रेडमार्क, सर्भिस मार्क, व्यापारिक नाम, स्वामित्वमा भएको लोगो, डोमेन नेम तथा अन्य सबै प्रकारका स्रोत वा बिजनेस आइडेन्टिफायर प्रयोग गर्ने अनुमति दिएको अर्थ लाग्छ।

 

5. परीक्षण।  यात्रासम्बन्धी साझेदारले Google र यसका सहयोगी संस्थाहरूलाई निम्न कुरा गर्ने अधिकार दिन्छन्: (क) यात्रासम्बन्धी साझेदारलाई सूचना नदिइकन उनले गर्ने "सेवाहरू" (गन्तव्य, गुणस्तर, वरीयता क्रम, कार्यसम्पादन, फर्म्याटिङ वा अन्य समायोजनसँग सम्बन्धित सेवालगायत) को प्रयोग प्रभावित हुन सक्ने खालका आवधिक जाँचहरू गर्ने र (ख) स्वचालित रूपमा "गन्तव्य" URL खोल्ने र तिनको विश्लेषण गर्ने तथा "गन्तव्य" URL प्रयोग गर्ने परीक्षण क्रिडेन्सिय‌ल सिर्जना गर्ने।

 

6. प्रत्याभूति, अधिकार तथा दायित्वहरू।  यात्रासम्बन्धी साझेदार निम्न कुराको प्रतिनिधित्व र प्रत्याभूति गर्छन्: (क) यात्रासम्बन्धी साझेदारसँग यी सर्तहरूको पक्ष बन्ने पूर्ण अधिकार निहित छ (ख) यात्रासम्बन्धी साझेदारसँग खण्ड ४ मा उल्लेख गरिएअनुसारको इजाजतपत्र तथा अनुमति प्रदान गर्ने अधिकार छ र भविष्यमा पनि कायम रहने छ (ग) यात्रासम्बन्धी साझेदारले नीति, प्रचलित कानुन वा लागू हुने अन्य गोपनीयता नीतिको उल्लङ्घन हुने वा तेस्रो पक्षको बौद्धिक सम्पत्तिको अधिकार हनन हुने कुनै पनि सामग्री उपलब्ध गराउने छैनन् (घ) यात्रासम्बन्धी साझेदारसँग डेटाको गोपनीयता वा डेटाको सुरक्षासम्बन्धी प्रचलित कानुन वा नियमद्वारा संरक्षित कुनै व्यक्तिबाट सङ्कलित वा त्यस्तो व्यक्तिसँग सम्बन्धित जानकारीका सम्बन्धमा आवश्यक अधिकार तथा सहमति पत्र छ र उनी उक्त कुरा Google लाई उपलब्ध गराउन सक्छन् र (ङ) यात्रासम्बन्धी साझेदारले उपलब्ध गराएको जानकारी तथा अधिकार पत्र (यात्रासम्बन्धी साझेदारका अफरहरू देखाउन आवश्यक पर्ने उत्पादनसँग सम्बन्धित सबै खुलासालगायत) पूर्ण, सही र अद्यावधिक छन् र भविष्यमा पनि रहने छन्।

 

7. अस्वीकृतिहरू।  कानुनले अनुमति दिएको अधिकतम हदसम्म GOOGLE र यसका सहयोगी संस्थाहरू  जुनसुकै प्रयोजनसँग सम्बन्धित गैर-उल्लङ्घन, सन्तोषजनक गुणस्तर, व्यापारिकता वा उपयुक्तता तथा जुनसुकै प्रकारका व्यापारिक डिल वा व्यापारको उपयोगका कारण सिर्जना हुने कुनै पनि वारेन्टीलगायतका अप्रत्यक्ष, वैधानिक वा अन्य सबै प्रकारका वारेन्टीसम्बन्धी दाबीहरू अस्वीकार गर्छन्।  कानुनले अनुमति दिएको अधिकतम हदसम्म HOTEL CENTER र यससँग सम्बन्धित सेवाहरू “सम्पादन नगरिकन हुबहु”, “जस्तो उपलब्ध हुन्छ त्यस्तै” र “तिनमा त्रुटि भएमा ती त्रुटिसहित” उपलब्ध गराइन्छ र व्यापारी ती सेवा आफैँ जोखिम मोलेर प्रयोग गर्छन्। GOOGLE र यसका सहयोगी संस्थाहरू HOTEL CENTER वा यससँग सम्बन्धित सेवाहरूका सम्बन्धमा वा ती सेवा प्रयोग गर्दा आउने परिणामका सम्बन्धमा कुनै पनि ग्यारेन्टी गर्दैनन्। GOOGLE र यसका सहयोगी संस्थाहरू व्यापारीलाई खराबी वा त्रुटिहरूका बारेमा जानकारी गराउने कुनै पनि किसिमको वाचा गर्दैनन्।

 

8. दायित्वका सीमितता।  दाबीको सिद्धान्त वा प्रकार जेसुकै भए तापनि कानुनले अनुमति दिएको अधिकतम हदसम्म (क) GOOGLE र यसका सहयोगी संस्थाहरू यी सर्तअन्तर्गत वा यी सर्तहरूका कारण सिर्जित वा यी सर्तहरूको कार्यसम्पादनसँग सम्बन्धित प्रत्यक्ष क्षतिबाहेक अन्य कुनै पनि प्रकारका क्षतिहरूका निम्ति उत्तरदायी हुने छैनन्। GOOGLE वा यसका कुनै एक सहयोगी संस्थालाई त्यस्ता अन्य प्रकारका क्षति हुन सक्छ भन्ने कुरा थाहा भए तापनि वा थाहा हुनु पर्ने भए तापनि र प्रत्यक्ष क्षति भएबापत प्राप्त हुने राहतले त्यसको क्षतिपूर्ति नगर्ने अवस्थामा पनि यो सर्त लागू हुन्छ; र (ख) GOOGLE र यसका सहयोगी संस्थाहरू यी सर्तअन्तर्गत वा यी सर्तहरूका कारण सिर्जित वा यी सर्तहरूको कार्यसम्पादनसँग सम्बन्धित कुनै घटना वा घटनाहरूको शृङ्खलाका हकमा समग्रमा ५,०००.०० अमेरिकी डलरभन्दा बढीको क्षतिका निम्ति उत्तरदायी हुने छैनन्।

 

9. क्षतिपूर्ति।  प्रचलित कानुनले अनुमति दिएको हदसम्म यात्रासम्बन्धी साझेदारको सामग्री, गन्तव्य, Hotel Center र यससँग सम्बन्धित सेवाहरू अथवा यात्रासम्बन्धी साझेदारले यी सर्तको उल्लङ्घन गरेका कारण सिर्जित वा यी विषयसँग सम्बन्धित सबै दायित्व, क्षति, नोक्सान, लागत, शुल्क (कानुनी शुल्कलगायत) र कुनै पनि तेस्रो पक्षीय कानुनी प्रक्रियासँग सम्बन्धित खर्चका सम्बन्धमा माथिका कारणबाट सिर्जित वा ती विषयसँग सम्बन्धित हदसम्म यात्रासम्बन्धी साझेदारले Google, यसका सहयोगी संस्था, एजेन्ट र इजाजत प्रदायकहरूको प्रतिरक्षा गर्ने छन् र तिनलाई त्यसबापत क्षतिपूर्ति दिने छन्।

 

10. खारेजी।  निम्न परिस्थितिहरूमा Google ले यो यात्रासम्बन्धी साझेदारलाई Hotel Center, सेवा वा खाता(हरू) प्रयोग गर्ने अनुमति सीमित पार्ने, निलम्बन गर्ने वा खारेज गर्ने (पूर्ण वा आंशिक रूपमा) अधिकार सुरक्षित राख्छ: (क) यात्रासम्बन्धी साझेदारले यी सर्त, कुनै पनि नीति वा प्रचलित कानुन(हरू) उल्लङ्घन गरेमा (ख) कानुनी मापदण्ड वा अदालतको आदेशका कारण Google ले त्यसो गर्नु पर्ने भएमा वा (ग) Google लाई यात्रासम्बन्धी साझेदारको क्रियाकलापका कारण यात्रासम्बन्धी अर्का साझेदार, कुनै तेस्रो पक्ष वा Google लाई हानि पुगेको छ वा दायित्व थोपरिएको छ जस्तो लागेमा। यात्रासम्बन्धी साझेदारलाई Hotel Center, सेवाहरू वा खाता(हरू) प्रयोग गर्ने उनको अनुमति त्रुटिवश सीमित पारिएको, निलम्बन गरिएको वा खारेज गरिएको छ जस्तो लाग्छ भने उनी हाम्रा नीतिहरूमा उल्लेख गरिएको अपिल प्रक्रियाबमोजिम अपिल गर्न सक्छन्। यात्रासम्बन्धी साझेदारले आफ्ना खाता(हरू) बन्द गरेर वा Hotel Center प्रयोग गर्न छाडेर जुनसुकै बेला यी सर्तहरू खारेज गर्न सक्छन्।

 

11. सर्तमा गरिने परिवर्तनहरू।  Google ले जुनसुकै बेला अग्रिम सूचना नदिइकन यी सर्तहरूमा सामान्य परिवर्तन गर्न सक्छ तर Google ले यी सर्तमा कुनै महत्त्वपूर्ण परिवर्तन गर्नुअघि त्यसको अग्रिम सूचना दिने छ। यी सर्तहरूमा गरिने परिवर्तन भूतप्रभावी हुने छैनन्। ती परिवर्तन यो पेजमा प्रकाशित गरेको ७ दिनपछि लागू हुने छन्। यद्यपि, कानुनी कारणले वा आकस्मिक परिस्थिति (जारी दुरुपयोगका घटना रोक्ने कार्य जस्ता) आइपरेका कारण गरिने परिवर्तनहरू भने सूचना दिनेबित्तिकै लागू हुने छन्।

 

12. लागू हुने कानुन; विवाद समाधान। यी सर्त वा Hotel Center का कारण सिर्जित वा यससँग सम्बन्धित विवादका सम्बन्धमा क्यालिफोर्निया राज्य कानुन (क्यालिफोर्निया राज्यको कानुनी मतभिन्नताका नियमबाहेक) लागू हुने छन् र यी विवादका बारेमा संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको सान्टा क्लारा काउन्टीमा रहेका सङ्घीय वा राज्य अदालतहरूमा मात्र मुद्दा दायर गर्न पाइने छ; विवादमा संलग्न सबै पक्ष ती अदालतका निजी क्षेत्राधिकारमा सहमति जनाउँछन्।  यात्रासम्बन्धी साझेदार मध्यस्थता प्रक्रियामार्फत विवाद समाधान गर्न मिल्ने क्षेत्रमा बसोबास गर्ने भएमा उनी यी सर्त वा Hotel Center का कारण सिर्जित विवाद मध्यस्थता प्रक्रियामार्फत समाधान गरिपाऊँ भनी Google मा आवेदन दिन पनि सक्छन्। हामीले खटाउन चाहेका मध्यस्थकर्ताहरूका बारेमा थप जानकारी प्राप्त गर्न तथा मध्यस्थता प्रक्रियामार्फत विवाद समाधान गरिपाऊँ भनी अनुरोध गर्ने तरिका जान्न यहाँ जानुहोस्। प्रचलित कानुनले आवश्यक भनी तोकेको अवस्थामा बाहेक मध्यस्थता प्रक्रियामा सहभागी हुने वा नहुने कुरा ऐच्छिक विषय हो र यात्रासम्बन्धी साझेदार वा Google मध्ये कुनै पनि पक्ष मध्यस्थता प्रक्रियामार्फत विवाद समाधान गर्न बाध्य हुँदैनन्।

 

13. विविध। (क) यी सर्तहरू यिनका विषयवस्तुका सम्बन्धमा यी दुई पक्षका बिचमा गरिएको सम्पूर्ण सम्झौता हो र यात्रासम्बन्धी साझेदारले यी सर्तहरू स्वीकार गरेपछि यिनले Hotel Center मा पेस गरिएका सामग्रीका हकमा Google र यात्रासम्बन्धी साझेदारका बिचमा गरिएका सामग्री प्रयोग गर्ने अनुमतिसम्बन्धी अन्य सम्झौता(हरू) लगायत यिनै विषयहरूमा यसअघि गरिएका सम्झौता वा समसामयिक सम्झौताहरू खारेज गरी तिनको ठाउँ लिन्छन्। (ख) यात्रासम्बन्धी साझेदार यी सर्तहरूमा परिकल्पित सम्बन्धका बारेमा कुनै पनि किसिमका सार्वजनिक वक्तव्य दिन सक्दैनन् (कानुनले आवश्यक भनी तोकेको अवस्थामा बाहेक)। (ग) Google ले खण्ड ११ बमोजिम यी सर्तहरू परिमार्जन गरेको अवस्थामा बाहेक यी सर्तमा गरिने सबै संशोधन दुवै पक्षले अनिवार्य रूपमा स्वीकार गर्नु पर्छ र यी सर्तहरू संशोधन गरिँदै छ भनी स्पष्ट रूपमा उल्लेख गर्नु पर्छ। (घ) सर्तको खारेजी वा उल्लङ्घनका सम्बन्धमा पठाइने सबै सूचनाहरू अर्को पक्षको कानुनी विभागमा लिखित रूपमा पठाइनु पर्छ (अर्को पक्षको कानुनी विभाग छ कि छैन भन्ने कुरा थाहा हुन नसकेका खण्डमा अर्को पक्षको मुख्य सम्पर्क व्यक्तिको ठेगाना वा फाइलमा उल्लेख गरिएको अन्य ठेगानामा पठाइनु पर्छ)। इमेललाई लिखित सूचना मानिन्छ। Google को कानुनी विभागमा पठाइने लिखित सूचनाहरू legal-notices@google.com ठेगानामा पठाइनु पर्छ।  यात्रासम्बन्धी साझेदारलाई पठाइने अन्य सबै सूचनाहरू ती साझेदारको खातासँग सम्बद्ध इमेल ठेगानामा लिखित रूपमा पठाइने छ।  Google लाई पठाइने अन्य सबै सूचनाहरू Google मा रहेका यात्रासम्बन्धी साझेदारका मामिला हेर्ने मुख्य सम्पर्क व्यक्तिलाई लिखित रूपमा पठाइने छ वा Google ले उपलब्ध गराएका अन्य विधिमार्फत पठाइने छ। सूचना प्राप्त भएपछि "सूचना दिइएको" भनी लिखित वा विद्युतीय माध्यमबाट पुष्टि गरिने छ। कानुनी सेवाको प्रक्रियाका हकमा भने सूचनासम्बन्धी यी नियम लागू हुँदैनन् र यिनको साटो प्रचलित कानुनले तोकेका नियम लागू हुन्छन्। (ङ) कुनै पनि पक्षले यी सर्तअन्तर्गतका कुनै अधिकार प्रयोग नगरेमा (वा प्रयोग गर्न ढिलाइ गरेमा) उक्त पक्षले सो अधिकार त्यागेको मानिने छैन। (च) यी सर्तअन्तर्गतको कुनै प्रावधान लागू गर्न नमिल्ने भएको पाइएमा उक्त प्रावधान हटाइने छ तर बाँकी सर्तहरू भने पूर्ण रूपमा लागू भइरहने छन्। (छ) Google को लिखित पूर्व सहमतिविना यात्रासम्बन्धी साझेदार आफ्नो कुनै पनि अधिकार वा दायित्व अरूलाई हस्तान्तरण गर्न पाउँदैनन्।  (ज) अन्य कुनै पनि तेस्रो पक्ष यी सर्तमा उल्लेख गरिएका अधिकार प्रयोग गर्न वा दायित्व वहन गर्न पाउँदैनन्। (झ) यी सर्तहरूका कारण दुवै पक्षका बिचमा कुनै पनि एजेन्सी, साझेदारी, संयुक्त उद्यम वा रोजगारमूलक सम्बन्ध सिर्जना हुँदैन। (ञ) यी सर्तहरूको म्याद सकिएको वा यी सर्तहरू खारेज गरिएको अवस्थामा पनि यिनका खण्ड १, ४, ६-१० र १२-१३ भने लागू भइरहने छन्। (ट) आफ्नो नियन्त्रणभन्दा बाहिरको परिस्थितिका कारण कुनै पक्ष वा उसका सहयोगी संस्थाहरूले गर्नु पर्ने जसरी काम गर्न नसकेमा वा ढिलो काम गरेमा उक्त परिस्थितिको असर देखिएको हदसम्म उक्त पक्ष वा उसका सहयोगी संस्थाहरू उत्तरदायी हुने छैनन्।